ऋषि कट्टेल ।
हालै बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती उजाड बनायो । हुनत त्यहाँ सुकुम्बासीमात्र छैनन् । हुकुम्बासीले जग्गा कव्जा गरेर सुकुम्बासीलाई शोषण गरिरहेका थिए । बास पनि छैन रोजगारी पनि नभएपछि रोजगारी खोज्दै काठमाडौँ छिरेका नागरिकहरुले बासको खोजी गर्नु अन्यथा कुरै भएन । उनीहरुको न्यायोचित र मानवीय अधिकारको दोहन गर्न सत्ताबाट पालिएका हुकुम्बासीहरु ठेकेदारको रुपमा अगाडी सरे र सुकुम्बासीहरुको नेता बने । सार्वजनिक जग्गा हडपे र सुकुम्बासीलाई भाडामा लगाएर आफू धनी बन्न थाले ।
यस बीचमा कम्युनिष्ट नाम गरेकाहरुको पटकपटक सरकार बन्यो । कथित आयोग बनायो, आफ्ना पार्टीका मान्छेहरुलाई जग्गा बाँड्यो, वास्तविक सुकुम्बासीलाई आश्वासन बाँड्यो । भोटबैंकको रुपमा प्रयोग गर्यो । उनीहरुको अधिकार स्थापित गरेन । जसले गर्दा आज बालेनहरु सुकुम्बासी बस्तीमा डोजर चलाउने दुस्साहस गर्न पुगे । यसको लागि एमाले र माओवादी केन्द्रको कुकर्म मुख्य रुपमा जिम्मेदार छ ।
जहाँसम्म कम्युनिष्ट आन्दोलनको प्रश्न छ यसको गठन र आन्दोलनमा पनि सुधारको जरुरी छ । यो आन्दोलनले सर्वहारा वर्गीय पक्षधरता भन्दा शहरीया एलिटहरुलाई आफ्नो पार्टी विस्तारको आधार बनायो । जुन सहज थियो । साथै वर्गसंघर्ष भन्दा जनआन्दोलबमार्फत मात्रात्मक परिवर्तनको वाटो लियो । जसले गर्दा पार्टी मध्यम वर्गीय शक्तिको कव्जामा पुग्यो । जसको कारण आम श्रमिकवर्ग कम्युनिष्ट पार्टीको आन्दोलनमा समेटिएनन् । यो आन्दोलन शहरीया एलिटहरुको वुद्धिविनोदको थलो बन्यो । जसको दुस्परिणाम आज कम्युनिष्ट आन्दोलनले भोगिरहेछ । श्रमिक जनता बालेनहरुका डोजरको शिकार बनिरहेका छन् ।
समान्य सर्भेक्षण गर्दा काठमाडौँ उपत्यकामात्र १५ देखि २० लाख सुकुम्बासी वा श्रमिक छन् । तर त्यहाँ कम्युनिष्ट पार्टीको पहुच एकदमै कम छ । यो जनसंख्यामा कम्युनिष्ट पार्टी पुग्ने वित्तिकै प्रतिक्रियावादी सत्ताको अवस्था कस्तो हुन्छ भन्ने बुझेरनै बालेनहरुले सुकुम्बासी बस्तीमा डोजर चलाएका हुन् । कम्युनिष्ट र श्रमिकले जब आफ्नो यो शक्ति बुझ्नेछन् बालेनका डोजरहरु स्वभाविकै स्पमा नष्ट हुनेछन् ।

प्रतिक्रिया