रञ्जनकुमार दाहाल
नयाँ युगको सरकारी कार्य शैलीमा प्रयोग हुने केही शब्दावलीबारे पुनर्विचार आवश्यक देखिन्छ। विशेषगरी मन्त्रीहरू, विभागीय निकायहरू, सचिवहरू तथा सुरक्षा निकायहरूसँगको औपचारिक छलफल र निर्णय प्रक्रियामा बारम्बार प्रयोग हुने ‘निर्देशन’ शब्दले अनावश्यक रूपमा आदेशात्मक र पदानुक्रम–केन्द्रित सन्देश दिन सक्छ। अबको आधुनिक नेपालको प्रशासनिक अभ्यासमा यस्तो भाषा भन्दा कानुन, प्रक्रिया र संस्थागत उत्तरदायित्वमा आधारित अभिव्यक्ति अधिक उपयुक्त मानिन्छ। यस सन्दर्भमा, ‘मन्त्रीले निर्देशन दिनुभयो’ को सट्टा निम्न प्रकारको अभिव्यक्ति प्रयोग गर्नु अधिक सान्दर्भिक र व्यावसायिक हुनेछः
‘कानुन र नियमअनुसार आवश्यक कार्य यथासक्य चाँडो गर्न ‘आग्रह’ गर्नुभयो।’
यसले अधिकार र दायित्वको सन्तुलन कायम गर्दै, सम्बन्धित निकायप्रति सम्मान, समन्वय र जवाफदेहिताको भावना अभिवृद्धि गर्छ। साथै, यस प्रकारको भाषा प्रयोगले निर्णय प्रक्रियालाई प्रक्रियामुखी, पारदर्शी र कार्यान्वयनमुखी बनाउन सहयोग पुर्याउँछ।
विगतमा भ्रष्ट मन्त्रीबाट ‘निर्देशन’ शब्दको अत्यधिक प्रयोगले कहिलेकाहीँ औपचारिकता वा मिडीयामा दिने सार्वजनिक सन्देशसम्म मात्र सीमित रहने प्रवृत्ति देखिएको थियो, जसले कार्यान्वयन पक्ष कमजोर भएको अनुभूति गराएको छ। त्यसैले अब आवश्यक छ कि सरकारी संचार शैलीलाई अझ परिष्कृत, उत्तरदायी र परिणाममुखी बनाइयोस्।
अतः आगामी दिनहरूमा नेपाल सरकारले आधिकारिक संवादमा यस्ता शब्दहरूको प्रयोगमा सचेत भई, कानुनी आधार, संस्थागत मर्यादा र सहकार्यलाई प्राथमिकता दिने भाषा अपनाउनु उपयुक्त हुनेछ। ‘निर्देशन’ भन्दा प्रक्रिया–आधारित र सम्मानजनक अभिव्यक्ति ‘आग्रह’ को प्रयोगले प्रभावकारी शासन प्रणाली निर्माणमा सकारात्मक योगदान पुर्याउनेछ। ‘मन्त्रीको निर्देशन’ प्रयोग बन्द गरौँ, अब ‘मन्त्रीको आग्रह’ प्रयोग गरौँ !

प्रतिक्रिया