अब म सम्भवतः दलगत राजनीति भन्दा टाढानै रहने प्रयास गर्नेछु


नरनारायण शाह ।

आज म अत्यन्तै गम्भीर एवं भावुक हुँदै मेरा लागि यो अविश्वसनीय र अकल्पनीय निर्णय लिन बाध्य भएको छु । किनभने मेरो परिवार नेपाली काँग्रेस सँग झन्डै ८ दशक भन्दा लामो समय देखि जोडिएको कारणले पनि म अहिलेको अवस्थामा निकै मर्माहत र दुखी समेत बन्न पुगेको छु । मेरा हजुरबुबा स्व. लोकेन्द्र बहादुर शाह ( पुर्व जिल्ला पार्टी सभापति एवं २०१५ सालका यस निर्वाचन क्षेत्रका साँसद) तत्पश्चात बुबाज्यु स्व. मोहन बहादुर शाह (पुर्व जिल्ला पार्टी सभापति एवं पुर्व जिविसका सभापति) र तेस्रोपुस्ताको म स्वयं दुई कार्यकाल यस जिल्लाको पार्टी सभापति बनेर अहिले निवर्तमान हुदै वर्तमान समयमा सुदूरपश्चिम प्रदेश कार्य समितिको महामन्त्रीको जिम्मेवारी वहन गरिरहेको इतिहास साक्षी छ । तर मलाई मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरुले खेलीरहेको आवश्यक अथवा अनावश्यक भुमिका प्रति मेरो पूर्णतः असन्तुष्टि रहेको छ ।

यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली काँग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिदाँसम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनैपनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरुमा स्वयंले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु । आगामी दिनहरुमा म सम्भवतः दलगत राजनीति भन्दा टाढानै रहने प्रयास गर्नेछु । यदि, दुर्भाग्यवश पार्टी यसैबीच विभाजन तर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवाद प्रति आस्थावान एवं चार तारे झन्डामुनी अन्धविश्वासी भइ लागेका साथीहरूको संगठन प्रतिको निष्ठा मर्म एवं भावना माथी निर्मम तरिकाले ठूलो आघात पुग्ने निश्चित छ । तसर्थ, सरोकारवाला सम्बन्धित सबैमा मेरो दुई हात जोडी विनम्रतापुर्वक बिन्ती छ कि यो स्थापित विरासत माथी कुनैकसैले पनि खेलवाड गर्ने प्रयत्न नगरिदिनु होला ।

यहाँसम्म आइपुग्दा म लगायत मेरो परिवारजनको लामो राजनीतिक यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनु भएका समस्त महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । जसकसैलाई जस्तोसुकै लागेता पनि अब उपरान्त म विशुद्ध नेपाली काँग्रेस भएर मात्र बाच्न चाहन्छु र अन्तिममा यो विषयलाई कसैले पनि अन्यथा नलिइदिनु होला भन्ने समेत सादर अनुरोध गर्दछु । मैले सदैव मनको संयमता, धैर्यता र विचलनता सँग हाँसीखेली आइरहेको मानिसलाई निर्वाचनले खासै त्यस्तो हतोत्साहित हुनेगरी प्रभाव पारेको छैन । यि सबै विषयवस्तुलाई मैले नजिकैबाट आत्मसात गर्दै आइरहेको कारणले पनि कृपया यो कुरालाई प्रतिनिधिसभा निर्वाचनको परिणाम सँग पनि तुलना नगरी दिनु होला भन्ने आग्रह छ । यहाँहरु सबैको जीवन सुखमय रहोस् !!
जय नेपाल !!