काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी कर्मचारीले स्वागत गरे ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेकामा धन्यवाद दिए । उनले आगामी दिनमा निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ थियो ।
गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।
आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्न उनले जोड दिए । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको व्यवस्था गरिने गृहमन्त्री गुरूङले उल्लेख गरे ।
प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार तथा मानवअधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आएको बताए । प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षा वास्तविक रूपमा सम्बोधन हुने उनको भनाइ थियो ।

प्रतिक्रिया