अब राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छः शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि नबनेको स्पष्ट भएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले कार्की आयोग र आमनिर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

उनले निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा, ’नयाँ शक्ति’ र ’नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ।’

उनले विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प नभएको बताएका छन् , उनले भनेका छन्, ‘तर पनि सत्य कुरा के हो भने–लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन ।’