यसपटकको निर्वाचनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको प्रधानमन्त्रीको दाबी


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले बुधबार बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन् ।

‘यसपटकको निर्वाचनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्दै उनले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताइन् । सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले सम्भव भएको कार्यक्रममा प्रधानमन्त्री कार्कीले जानकारी गराइन् ।

निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रुपमा मतदाता नामावलीमा नाम लेखाइ निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको प्रधानमन्त्री कार्कीले बताइन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकामा उनले आयोगलाई धन्यवाद दिइन् ।