-अरबिन्द सिंह
व्यक्ति रोज्ने कि संगठन ? नेता रोज्ने कि नीति ? विधि रोज्ने कि व्यक्ति ? आजका एमालेका कार्यकर्ताहरुसंग अर्को विकल्प छैन । हाम्रो पार्टी निरन्तर मनमौजी ढंगले चल्दै चल्दै यहाँसम्म आईपुगेको हो । पार्टीले विधि छोडेको, नीति छोडेको, पद्धति छाडेको धेरै भयो । जसका कारण नेताकार्यकर्ताहरु विस्तारै भजनमण्डलीमा रुपान्तरण भए । मातहत कमिटीका कमरेडहरुले राजनीतिक हुन पर्दै परेन, सिधै बालकोट वा गुण्डुतिर फर्किए भयो, बरु च्यासल नआए पनि भयो । धेरै कसैले सोच्नु परेन । ठूलो फूली लगाएर बसेकोले सोचे पुग्यो । नुनदेखि सुनसम्मको जोहो उहीँ एक्लैले गर्ने भयो । पार्टी नेतृत्व समाजबाट पुरै बेखबर थियो वा ऊ समाजतिर फर्कनै चाहन्न थियो । जनता गणतन्त्र प्राप्तिपछि गण हुन चाहन्थे तर नेताहरुलाई हनुमानगिरी गर्ने संख्या चाहिएको थियो।
निरन्तर फण्डामाथि फण्डा थपेर जनतालाई वाक्कदिक्क बनाइयो । संरचनात्मक परिवर्तनलाई ध्यान दिइएन । आवश्यकताको प्राथमिकता निर्धारण गरिएन । मानवीय विकासमा नाममा सिन्को भाँचिएन, कछुवा गतिमा भएका भौतिक पूर्वाधार विकास मैले मात्रै गरेको भनेर नक्कली दाबी गरियो ।
पार्टी कमिटी नेतृत्व अनुमोदन गर्ने प्राविधिक संख्यामा सीमित भयो । अध्यक्षका समकक्षीहरु मौन साक्षी बस्नु भयो । राज्य र पार्टीहरु पुर्णतः एउटा व्यक्तिको तजबिजमा चल्यो । शिरदेखि तिरसम्म अवसरवादीहरुको हालीमुहाली भयो । टिकट पाइने लोभमा राजनीतिक कुरा उठ्दै उठेन । सामान्य प्रश्न गर्नेहरुको त सामूहिक कत्लेयाम नै गरियो । जबकी जुनसुकै समस्याको समाधानको विधि भनेको छलफल र बहस हो । तर बहस त टाढाको कुरा सामान्य प्रश्न पनि बर्जित भयो । जनताको कुरा त सुन्नै परेन , कार्यकर्ता कि चुपचाप हुनु पर्यो कि कार्बाही भोग्नु पर्यो । यसरी एउटा ऐतिहासिक पार्टी पूर्णतः निकम्मा हुन पुगेको हो ।
कमरेड पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको उत्तराधिकार दाबी गर्ने पार्टी आज खुम्चिएको छ । नेतृत्वलाई आम जनताले प्रश्न मात्र सोधेनन् , घृणा गरे, लल्कारे जसलाई हामीले सुन्दै सुनेनौं वा भनौं सुन्नै चाहेनौं ।
अब हामीसँग संगठन र प्राप्त जनमत बाँकी छ, जुन हाम्रो पूँजी हो । यसलाई हामी बढाउँछौ, जोगाउँछौँ की होइन जेसुकै होस्, हामी आजपनि ठिक छौँ र हिजो पनि ठिक थियौँ भनिरहन्छौ । हामीलाई भोट नदिएर जनताले गम्भीर भूल गरेका छन्, गल्ती जनताले गरेकाले जनता सच्चिनुपर्छ भनेर बारम्बार आम जनताको हुर्मत लिइरहन्छौं ? आजको गम्भीर प्रश्न यही हो ।
धुलो टक्टक्याएर उठ्छु भनेर खाल्टामा/हिलोमा पुरिएकाहरुले खोक्ने बेला होइन, चुपचाप बिदा लिने हो र जसले बारम्बार यो नेतृत्वले कहीँ केही बाकी नराख्नेगरी सबै ध्वस्त बनाउँदैछ भनेर पार्टीभित्र निरन्तर बहस चलायो र सिंगो पार्टी पंक्तिलाई सचेत गराइरहनेहरुलाई नेतृत्व हस्तान्तरण गर्ने हो ।

प्रतिक्रिया