काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गालीका पर्याय नै थिए । उनले जहाँ भाषण गरुन् वा सामाजिक संजालमा लेखुन्, उनी उनको भाषामा पुराना दल र दलका नेताहरुलाई गाली गर्दै आक्रोश मात्र पोख्ने गर्थे । उनी आफू सत्तामा पुगेपछि त्यसको बदला लिने भन्दै आक्रोश पोख्थे । तर फागुन २१ को निर्वाचनले रास्वपालाई झण्डै दुई तिहाईको मत दिएको छ । दुई तिहाई नजिकको दलको नेताको अब कस्तो भाषण सुन्न पाइने हो भन्ने धेरैको जिज्ञासा थियो । यसैक्रममा रास्वपाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको थियो । कार्यक्रम समापनका क्रममा सभापति लामिछानेले सम्बोधन गरेका थिए । हिजो आक्रोश अर्थात आगो ओकल्ने रवि लामिछाने अहिले फरक सुनिए, देखिए अनि बुझिए । रविको बुधबारको भाषण सुनेपछि यतिबेला सर्वत्र रविको प्रशंसा हुन थालेको छ ।
रविको सम्बोधन सुनिसकेपछि एकजना पत्रकार एवं अनुसन्धानकर्ता डा.सरोज गौतमले सामाजिक संजालमा लेखेका छन्, ’म आजकल रविको प्रशंसक बन्दै गएको छु। उनी पत्रकारितामा रहँदा म रवि लामिछानेको प्रशंसक थिइनँ । विगतका कतिपय आचरणगत ब्यागेज उनकै राजनीतिक करिअरका लागि भारी परिरहेको हामीले देखिरहेका नै छौँ। यद्यपि पछिल्लो राजनीतिक परिदृष्यमा रविको राजनीतिक आचरण र अभिव्यक्ति प्रशंसा गर्न योग्य देखिन्छ। समग्रमा हेर्दा रविमा एक परिपवक्व र लचक राजनीतिज्ञमा देखिने लक्षण देखिइरहेका छन्।’
गौतममात्र होइन धेरैले रविको प्रशंसा गरेका छन् । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले यो रविको सम्बधोन समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसने भन्दै टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्ः
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन-जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर–पार्टी भाषणीय घटना मात्र होइन, यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ । उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे । उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन, त्यहाँ सचेत चेतावनी पनि थियो । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे । रवि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे ।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन, यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजित भइरहन्छ । यो बेग्लै कुरा हो, कोही जित पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन । समग्र समाजका लागि पनि , दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति एक रोचक र मननीय अभिलेख हुनसक्छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रविको प्रशंसा गरेका छन् । उनले रविको अभिव्यक्ति निकै सकारात्मक भनेका छन् । उनी लेख्छन्ः
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईष्र्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्। पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ। त्यो कायम रहोस् । दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ। हार्दिक शुभकामना ।
पूर्वराजदूत निलाम्बर आचार्यले रविको सम्बोधन जिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिमुखीकरण सम्बोधन हेरेँ, सुनेँ । जिम्मेवारीको गम्भीरताअनुरूप जिम्मेवारीपूर्ण अभिव्यक्ति भएको पाएँ । प्रस्तुति राम्रो लाग्यो । बोली व्यवहार राम्रो रहोस् । काम समयमै सम्पन्न हुने गरोस् । देश सबैको हो । एकता बलियो रहोस् । शुभ होस् ।’
कलाकार दीपकराज गिरीले रविले बोलेको कुराले उहाँहरूमा जोश मात्रै होइन होश पनि छ भन्ने कुरा प्रतित भएको टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘मैले उहाँलाई बिगत १ वर्षदेखि भेटेको छैन । सायद पोखरा कारागारमा अन्तिम पल्ट भेटेको थिएँ । यदि दिनरात लागिरह्यो भने, स्टिलमा पनि लेउ लाग्छ सक्छ भन्ने कुराको उदाहरण नै हो उहाँ । संयोग पनि होला उहाँका पनि सुरूमा कलाकार अब हुनेवाला प्रधानमन्त्री पनि कलाकार एक कलाकारको हिसाबले यो खुसीकै कुरा भयो । सायद मैले यो पोष्ट गर्दिन पनि थिए होला । तर आज उहाँले बोलेको कुराले उहाँहरूमा जोश मात्रै होइन होश पनि छ भन्ने कुरा प्रतित भएको । सफलताको ५ वर्षे शुभकामना !’
विश्लेषक दोभान राइले चाहिँ रविको सम्बोधनलाई फरक ढंगबाट विश्लेषण गरेकी छन् । उनले रवि बोलेरै यहाँसम्म पुगेको तर रास्वपाबाट हुँदै गरेको प्रधानमन्त्री बालेन साहप्रति भने संशय अनि कटाक्ष गरेकी छन् । उनी लेख्छिन्ः
रबि लामिछानेको भाषण मन पर्नेले तारिफ गरेको त ठिकै छ। बोल्नु उहाँको ठूलो सीप हो । बोलेरै यहाँसम्म पुगेको मान्छे हो । माओवादीबाट धेरै संशय हुँदा प्रचण्डको बोली, भाव भंगीले यसरी नै धेरैलाई disarm गरेको थियो । रबि लामिछानेको बोलीलाई तारिफ गर्दै गर्दा त्यही पार्टीबाट प्रधानमन्त्री हुँदै गरेको बालेनको कुरा पनि हेर्ने कि । यो अभिमुखीकरण कार्यक्रम सँगसँगै परिचयात्मक कार्यक्रम पनि थियो । पुरै कार्यक्रममा उपस्थित हुन नसके पनि उद्घाटन वा समापन वा कुनै क्षणको लागि पनि उपस्थित भएर त्यहाँ दुई दिन लगातार सहभागी हुने आफ्ना नवनिर्वाचित सांसदलाई धन्यवाद दिन पर्ने हैन रु आफ्नो अनुपस्थितिको लागि माफी या कुनै acknowledgement or explanation दिन पर्ने हैन ? मेयर पद बिचैमा छाडेर चुनावी यात्रामा जादा पनि उनले केही सम्बोधन, धन्यवाद, माफी नमागीकन गए । नेपालको पुरातत्व, संस्कृति र राष्ट्रिय गौरवको कुरा गर्न रुचाउने बालेनले बुझ्न पर्यो कि नेपालको संस्कृति र गौरव सुन्धारा र सुनौलो गजुर मात्र हैन, हाम्रो सामूहिकतावादी समाजको विनम्रता, शिष्टाचार, सौहार्द र व्यावहारिकता पनि हो । राष्ट्रिय गौरव तपाईँको हिरो गिरीको backdrop मात्र हैन । प्रधानमन्त्री हुँदै हुनुहुन्छ , तपाईँको बेहोरा चाहिँ गौरव गर्न लायक पनि हुन पर्यो ।

प्रतिक्रिया