योगध्यानसँगै यसरी सुरु गरियो रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरूवात(फोटोफिचर)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरूवात योगध्यान कक्षासँगै सुरू भएको छ । ललितपुरको होटल टुलिपमा मंगलबार अभिमुखीकरण कार्यक्रम उद्घाटन गरिएको थियो ।

नवनिर्वाचित सांसदहरुलाई दोस्रो दिन योगगुरु एलपी भानु शर्माले योगध्यान गराएका थिए । उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । आज पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियाः योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन् ।

त्यस्तै पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासनः अवधारणा र अभ्यास’ सम्बन्धमा सिकाउने छन् । त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्धः नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् ।

अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने कार्यक्रम छ ।