सुवर्ण अवसरको सदुपयोग गर्न सकेनौं भने माफ गर्न गाह्रो हुन्छः उपसभापति अर्याल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले जनताको मतले थप जिम्मेवार र गम्भीर बनाएको बताएका छन् ।

मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उपसभापति अर्यालले जनतालाई व्यवहारले मेरो लागि सरकार बनेको हो भन्ने देखाउनुपर्ने बताएका हुन् । उनले मौका त्यतिकै नआएको भन्दै सांसदहरुले मनन गर्नुपर्ने बताए ।

उनले सरकारको जिम्मेवारी महत्त्वपूर्ण भएको र हरेक दिन नागरिकले नियाल्ने बताए । उनले भने, ‘यो ऐतिहासिक जिम्मेवारी हो । म सबै निर्वाचित माननीयज्यूलाई जिम्मेवार बन्न पुनः आग्रह गर्दछु । हामीले भाषण गरेर होइन । सभापति र वरिष्ठ नेतालाइ कुदाएर होइन, आ– आफ्नो ठाउँबाट सबैले जिम्मेवारपूर्वक काम गर्नु पर्नेछ ।’

उनले आफ्नो क्षेत्रमा गरिएका प्रतिबद्धता र पार्टीको बाचापत्र नभुल्न समेत आग्रह गरे । उनले भने, ‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ । हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ । हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’

उनले यो इतिहास लेख्ने सुवर्ण अवसर भएको बताए । उनले भने, ‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ ।’