‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ?’


काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले कमजोरी स्वीकार नगरी हामीलाई फसाइयो भन्ने निष्कर्ष निकाल्नु गलत भएको बताएका छन् ।

शनिबार साँझ सामाजिक संजालमार्फत पाण्डेले ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘कारबाही’ को धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ? नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।’

उनले अन्तर्घातले ५–१० हजार मत तल–माथि भएपनि देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला–तर अन्तर्घातले ५–१० हजार मत तल–माथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो । यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान् र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।’