काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित दुई सांसदले परिवर्तनको अपेक्षा गर्दै जनताले दिएको मतलाई सम्मान गर्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं. ९ का सांसद तथा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र तनहुँ क्षेत्र नं. २ का सांसद इन्जिनियर श्रीराम न्यौपानीलाई शनिबार अर्किड कोलोनी टोल विकास समितिले बधाई तथा सम्मान गरेको कार्यक्रममा उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सांसद अर्यालले जनताले परिवर्तन र परिणामको अपेक्षा राखेर नयाँ नेतृत्वलाई अवसर दिएको उल्लेख गर्दै अब कामबाटै विश्वास जित्नुपर्ने समय आएको बताए ।

’अबको राजनीति परिणाम दिने हुनुपर्छ’ उनले भने, ’संरचनागत सुधार गर्दै नागरिकले छिट्टै अनुभूति गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’
अर्यालले मुलुकको आर्थिक स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्दै विकास र सुशासनलाई प्राथमिकतामा राख्ने योजना रहेको बताए । साथै विभिन्न क्षेत्रमा अनुभव भएका व्यक्तिहरूको सुझाव समेटेर नीति निर्माणमा अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सांसद न्यौपानेले निर्वाचनमा जनताले राखेको भरोसालाई स्मरण गर्दै पाँच वर्षको अवधिमा काम गरेर देखाउन नसके त्यो जनमतप्रति अन्याय हुने बताए ।
उनले भने, ’हामीलाई केवल हाम्रो पार्टीका समर्थकले मात्र होइन, अन्य दलका धेरै नागरिकले पनि परिवर्तनको अपेक्षासहित मत दिनुभएको छ । त्यसैले काम गरेर देखाउनु नै हाम्रो पहिलो दायित्व हो ।’

कार्यक्रममा टोल विकास समितिका अध्यक्ष तथा पूर्वसचिव विश्वप्रकाश पण्डितले देशलाई सही दिशामा अघि बढाउन नेतृत्वले साहसिक निर्णय लिनुपर्ने बताए ।
उनले नयाँ पुस्ताका नेताहरूले सुधार र परिवर्तनको नेतृत्व गर्दै देशलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया