खलङ्गा । दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मपरिणामअनुसार उनी १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरेका छन् ।
जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो ।
नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै जिल्लाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया