रौतहट–२ मा कांग्रेसबाट अफताब आलमका छोरा निर्वाचित


चन्द्रपुर । रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।

नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे ।

सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।