कर्तव्य पूरा भएको भन्दै रुपन्देहीका रास्वपाका नेता पौडेलले छाडे पार्टी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पदबाट राजीनामा दिएका छन् । रास्वपा रुपन्देही–३ का निवर्तमान सभापतिसमेत रहेका पौडेलले प्रदेशका महामन्त्रीलाई सम्बोधन गरी सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामालाई अन्यथा नलिन आग्रह गरेका छन् । निर्वाचन सकिएपछि उनले पार्टीबाट राजीनामा दिएका हुन् ।

यस्तो छ उनको राजीनामा पत्र

आदरणीय माहामन्त्री ज्यू। मितिः–२०८२–११– २२

राष्ट्रिय स्वतन्त्र पार्टी
लुम्बिनी प्रदेश, नेपाल


बिषय – राजीनामा सम्बन्धमा ।

म ओम पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नः–३ को निर्वतमान सभापति र हाल रास्वपा लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ( सदस्यता न. १८१६, मिति–२०७९–१२–१४) आजकै मितिदेखि रास्वपाको साधारण सदस्य पनि नरहने गरि राजीनामा पेश गर्दछु र यसलाई पार्टीले अन्यथा नलिई सहजताका साथ स्वीकार्ने कुरामा विश्वस्त छु । मेरो उद्देश्य पुराना राजनितिक दलका गलत पात्रहरुले स्थापित गरेको संगठित ठगी धन्दा, राज्यका संयन्त्र कब्जा, सेटिङमै हुने तस्करी, संस्थागत भ्रस्टाचार र बेरोजगारी सँग–सँगै वैदेशिक रोजगारीमा जानेहरूलाई पनि एयरपोर्टमै बेच्नेसम्मका अपराधिक संजालकाबिरूद्ध रवि लामिछानेले देखाएको आँट र साहसमा आफ्नो ऐक्यबद्धता जनाउदै पार्टीमा जोडिएको थिएँ जुन हिजोको मतदान र आजको परिणामसँग आफ्नो कर्तव्य पुरा भएको ठानेको छु।

म हिजोका दिनमा पनि स्वतन्त्र अभियानका साथै हरेक नयाँ परिवर्तनकारी शक्तिहरुलाई बाहिरबाटनै आफूले सकेको सहयोग गर्दै आएको थिएँ। रास्वपानै मेरो पहिलो राजनीतिक दल हो। जसको मैले सदस्यातानै लिएर अगाडि आएँ किनकी त्यो बेलामा संगठननै नभएको अवस्थामा बाहिर बस्नु भन्दा भित्रै बसी योगदान दिनु उचित ठानें ।

जसरी पनि परिवर्तन हुनुपर्छ भनेर राजनीतिमा लागेको मैले अब आफ्नो जिम्मेवारी पुरा भएको ठानेको छु। अव बाँकी जिम्मेवारी आफ्नो गाउँ,समाज र देश परिवर्तनको योजना सहितको आँट र साहस लिएर जोडिनु भएका नयाँ साथीहरुले गर्नुनै हुनेछ् भन्ने आशा गर्दछु। राजनीति साँच्चिकै फोहोरी छ ! हरेक राजनीतिक दलमा अवसरवाद हाबी छ। रास्वपामै पनि दोहोरो चरीत्र देखाउने र मात्र पदका लागि जे पनि गर्न सक्ने व्यक्ति देख्दा दुःख पनि लागेको छ्।

म रहेको मेरो पार्टीप्रति मलाई माया सधै रहिरहने छ, किनकी हामीले एक–एक गरेर संगठन जोडेका हौं, त्यसैले म अरू कुनै पनि साथीहरूलाई जानकारी नै नगराइ एक्लै आफ्नै स्वविवेकले राजीनामा दिने निर्णय लिएँ, त्यसको लागि सबै सहयात्री साथीहरुसँग क्षमा चाहन्छु।
एउटा कुरा गर्वका साथ भन्न सक्छु, पार्टीमा लागेर केन्द्रदेखि वडासम्म धेरै साथी–भाइको माया कमाएको छु, त्यो मायाँ सधै मुटुको कुनै कुनामा सुरक्षित राखी रहने छु। म यो पनि भन्न चाहन्छु, कि म पार्टीमा कुनै पद नपाएर या अरु कुनै पार्टीमा अवसर खोज्ने उद्देश्यले पार्टी छोडेको होइन, मात्र मलाई स्वतन्त्र नागरिक भै बस्ने इच्छा हो, जुन मेरो संधिानले दिएको अधिकार भित्र पर्छ। मलाई स्वतन्त्रता मन पर्छ, जसले सही र गलत छुटाउन सकोस् र यो तागत कुनै राजनीतिक दलको झण्डामुनि बसेर सकिँदैन, मात्र देशको झण्डामुनि बसेर सकिन्छ भन्ने मैले राम्रोसँग बुझेको छु।

राजनीति गर्दिनँ भने पनि राजनीतिले त पछ्याइरहेकै हुन्छ । मात्र आफूले के का लागि राजनीति गर्ने कुरा मात्र प्रमुख हुँदो रहेछ । तर मैले पद प्राप्तिलाई मात्र कहिल्यै राजनीति मानिन र भबिष्यमा मान्ने पनि छैन। हुन त राजनीतिमा लागेर सकारात्मकतालाई अँगाल्दै समाज, राष्ट्र र त्योभन्दा पनि माथि उठेर मानवता र जीवात्माकै लागि राजनीति गर्ने साथीहरु पनि भेट्टाएँ, भने नकारात्मक सोच र निहित स्वार्थको लागि आत्मकेन्द्रित भएर राजनीति गर्ने मान्छे पनि भेट्टाएँ। अझ भन्दा आफ्नो प्रष्ट विचार तथा दृष्किोणकासाथ समाज परिवर्तनका लागि राजनीति गर्नेदेखि यसैलाई पेशा र व्यवसायको रुपमा उपयोग गर्न खोज्नेदेखि राजनीतिलाई नै आय–आर्जन र जीविकोपार्जनको माध्यम बनाएर हिँडेका पनि भेट्टाएँ । निःस्वार्थ भावनाले परिवर्तनको हुटहुटी बोकेर लागेका साथीरुलाई सधै सम्मान रहने छ भने स्वार्थ केन्द्रित पात्रलाई मेरो भन्नु केही छैन।

राजनीतिप्रति चासो राख्ने नागरिक भएको हुनाले पक्कै पनि आगामी दिनमा गुणका आधारमा सक्षम अनि भिजन भएका व्यक्ति या समूहलाई नागरिकका हिसाबले समर्थन गर्ने नै छु। भविष्यमा पनि आफूले माया गरि तन,मन अनि धनले सके जति समर्पण गरि सिंचाई गरेको पार्टीको निरन्तर निगरानी गर्दै सल्लाह, सुझाव र सचेत गराइरहने बाचा पनि गर्न चाहन्छु। पार्टी मा नरहेपनि समाज प्रतिको मेरो उत्तरदायित्व सधै रहिरहनेछ र म निरन्तर समाजमा आफूले सकेको योगदान गरिरहने बाचा गर्दै आफ्नो व्यवसाय गरिरहेको म परिस्थिति र समयको मागले राजनीतिसँग जोडिएको थिएँ। अब फेरि आफ्नो व्यवसायलाई समय दिने छु र भविष्य मा यो समाज र देशलाई आवश्यक परे फेरि हरेक जायज अभ्यासको लागि यार रहने बाचा पनि गर्न चाहान्छु, धन्यवाद ।
ओम पौडेल
आजदखि स्वतन्त्र नागरिक