जेनजी आन्दोलनपछि गतिशील लोकतान्त्रिक पार्टी खोलेका बस्नेतले छाडे राजनीति


काठमाडौँ। बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी बस्नेतले आगामी दिनमा व्यवसायसँगै समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका हुन् । उनले गत भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा विचलित बनाएको उल्लेख गरेका छन् ।

उनले ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको शक्तिशाली आवाज भएको उल्लेख गरेका छन् ।

यस्तो छ बस्नेतको भनाई

‘व्यवसायसँगै देश र सामाज सेवाको भूमिकामा’

वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले मेरो मनमष्तिष्क एवं हृदयलाई विचलित बनायो । ती घटनाहरू संयोग मात्र थिएनन्, ती आवाजहरू त भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको विस्फोट थियो । ती नवयुवाका आँखामा भविष्यको सपना पनि थियो । उनीहरुले सँगालेका सपना – सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको लागि थियो ।

नवयुवाको विद्रोहले २४ घण्टाभित्रै पुरानो सत्तालाई गल्र्याम्गुर्लुम्मै ढालिदियो । त्यसपछि मेरो मनमा देश साँच्चै नयाँ दिशातर्फ मोडिन सक्छ भन्ने गहिरो विश्वास जन्मियो । यही विश्वासले म पनि दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएँ र गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनें ।

हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ – पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।

आगामी दिनमा म मेरो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्नेछु । स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षा– यिनै क्षेत्रहरुबाट दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने मेरो विश्वास छ । गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन म शुभकामना व्यक्त गर्दछु । साथसाथै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरुलाई पनि मेरो हार्दिक शुभकामना ।
त्यसैले अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु । यस यात्रामा सदाझैं साथ, सहयोग र विश्वास पाउने आशासहित सबै आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

वीरेन्द्र बहादुर बस्नेत
२२ फागुन २०८२