२४ घण्टामा मतगणना सम्पन्न गर्ने आयोगको तयारी


काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे ।

कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे ।

उनले मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदान भइसकेपछि ढुवानी गर्नेबेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताए । उनले भने, ‘धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मत पेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन्। मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन ।’ निर्वाचन सुरक्षामा परिवर्तन गरेका छैनौँ। कुनै परिवर्तन भएको छैन। पहिलो घेरमा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरमा सेना रहन्छ ।’

उनले मतगणना सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए । भण्डारीले जतिसक्दो छिटो मतगणना सक्ने तयारी गरिएको बताए। उनले भने, ‘प्रत्यक्षतर्फ मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्नेछौँ ।’

उनले प्रत्यक्षतर्फको सँगसँगै समानुपातिकतर्फको मतमणना पनि गर्ने तयारी भइरहेको जानकारी दिए । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।