काठमाडौँ । निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही ३ फागुनदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइन् । उनले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरिन् ।
मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आमनिर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यसपटक पनि यस प्रयोजनका लागि उनीहरुहरूलाई नै जिम्मेवारी दिइएको थियो ।
आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो । मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

प्रतिक्रिया