ओलीको आग्रहः यो देश हामीले बचाउने कि नबचाउने ? अब स्पष्ट कित्ताकाट गर्नुस्(भिडियो)


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश निर्माण वा विध्वंसको बाटो रोज्ने कित्ता स्पष्ट गर्ने बेला आएको बताएका छन् ।

आइतबार भिडियो सन्देश जारी गरी अध्यक्ष ओलीले अहिलेको चुनाव पार्टी–पार्टीबीचको नभई जलाउने र बनाउनेबीचको भएकाले आममतदाताले एउटा बाटो रोज्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘आज हामीलाई संविधान नहिल्लने, अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ । त्यही कारण देश पहिले भावना चाहिएको छ । आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने, ग्यारेन्टी चाहिएको छ । अहिलेको चुनाव पार्टी–पार्टीबीचको चुनाव होइन, यो त जलाउने र बनाउनेमध्ये को रोज्ने ? भन्ने चुनाव हो ।’

उनले यस्तो अवस्थामा हुन गइरहेको चुनावमा नेपाली जनताले स्पष्ट कित्ताकाट गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’

उनले आफ्ना पनि केही कमजोरी हुन सक्ने भन्दै स्वीकार गरेका छन् । उनले भने, ‘मेराप्रति थुप्रै भ्रम फैलाइएको छ । मप्रति गुनासा र प्रश्नहरु पनि होलान् । तर तपाईंलाई यो पनि थाहा छ– मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’

अध्यक्ष ओलीले निर्वाचित सरकारलाई अपदस्थ गरी फेरि उही निर्वाचन गराउन लागेकाले ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,‘आज तपाईंले ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ– यो देश हामीले बचाउने कि नबचाउने ? यो सोध्न मिल्ने हुने प्रश्न होइन तर सोध्नैपर्ने भएको छ ।’