आफ्ना नागरिकलाई इजरायल र इरान यात्राको योजना स्थगित गर्न नेपालको आग्रह


काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमप्रति चासो व्यक्त गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गरी हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बन्धित देशका निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

सकेसम्म घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन, सतर्क रहन र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।

त्यस्तै, सम्बन्धित निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ। काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ ।

इजरायल वा इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न मन्त्रालयले सुझाव दिएको छ ।

साथै, मध्यपूर्वका अन्य देशहरूमा रहेका नेपाली नागरिकलाई पनि त्यहाँको विकसित अवस्थाबारे जानकारी राख्दै सम्बन्धित देशका निकायहरूले सुझाएका सावधानी अपनाउन आग्रह गरिएको छ । परराष्ट्र मन्त्रालयले क्षेत्रीय अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।