दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको बताएका हुन् ।
उनले मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको बताए । एमाले चुनावबाट नभाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरूको समाधान निकाल्ने बताए ।
अध्यक्ष ओलीले चुनावमा हुने कुनैपनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।
उनले भने,‘राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिएमा लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता दिँदैनन् । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’ अध्यक्ष ओलीले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।

प्रतिक्रिया