बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण होः महासचिव पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको मुखमा बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक संजालमार्फत महाचिव पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री नभई यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताएका हुन् ।

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए ।

उनले भनेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन—यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो । हामीले बुझ्नुपर्छः लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ । सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ।’

निर्वाचनको मुखमा एकपक्षीय रुपमा बीबीसीको डकुमेन्ट्री आएको भन्दै यसका पक्ष र विपक्षमा बहस भइरहेको छ । निर्वाचन आयोगले भने प्रेस काउन्सिललाई पत्र लेख्दै हटाउने प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।