काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरुलाई नपत्याउन आग्रह गरेका छन् ।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भने, ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।’
माओवादी द्वन्द्वका बेला रवि नेपाली नागरिकता त्यागेर अमेरिका बसेका थिए । त्यसैगरी सभापति थापाले रास्वपाका वरिष्ठ नेता बालेन साहलाई पनि कटाक्ष गरेका छन् । उनले स्वाउको गीत गाएर मात्रै कणालीको विकास नहुने बताए ।
उनले भने, ‘कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ, कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ। राराका बारेमा कविता भन्न सकिन्छ, सबै कुरा भन्न सकिन्छ । कर्णालीका समस्या समाधान गर्न संविधान, कानुनमै बदलाव ल्याउनुपर्छ । म प्रधानमन्त्री हुन्छु, चटक गर्छु, जादु गर्छु होइन । म संधिवान र कानुनमा बदलाव ल्याउनका लागि पाँच वर्ष प्रयोग गरौँ भन्छु, एउटा साथी आएर यत्रो समय के गरिस् भन्छ?’

प्रतिक्रिया