काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार वाम बुद्धिजीवीसँगको छलफलमा उनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताएका हुन् ।
निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गरे ।
पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धतापत्र हरेक वडामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने,’अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ ।’ प्रचण्डले फेरि नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्ने अवस्था आउन सक्ने बताए । उनले देश जलाउनेहरूविरुद्ध लड्न दुई ठूला दलहरूसँग सहकार्य हुन सक्ने बताए ।
उनले भने, ‘हामीले सिंहदरबारसहित देशका संरचना जलाउनेहरूविरुद्ध लड्न कांग्रेस र एमालेसँग कुरा गर्नुपर्नेछ । वैदेशिक दलालविरुद्ध लड्न कांग्रेस–एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आउन सक्छ । तर त्यो सहकार्यका लागि भदौ २३ र २४ गतेको आन्दोलनका कारण अहिलेको परिस्थित सिर्जना गरेकामा कांग्रेस–एमालेले आफ्नो भूमिकाको खण्डन गर्नुपर्नेछ।’

प्रतिक्रिया