रविको आक्रोशः जनताको आवाज बोल्दा माइक काट्ने निवर्तमान सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेप्रति आक्रोश पोखेका छन् ।

मंगलबार झापा– ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार इन्दिरा रानामगरको चुनावी सभामा सभापति लामिछानेले घिमिरेप्रति आक्रोश पोखेका हुन् ।

उनले संसदमा जनताको आवाज बोल्द माइक काटेको भन्दै आक्रोश पोखेका हुन् । उनले आफूहरुले संसदमा भिजिट भिसामा लाखौँ रुपैयाँ ठग्नेलाई कारबाही गर, समिति बनाउ भन्दा आफूहरुको माइक काटिएको बताए ।

उनले भने, ‘मैले यहाँ एउटै कुरा भन्नेपर्छ, मलाई थाहा छैन पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ थाहा छैन । हामीले संसदमा भिजिट भिसामा लाखौँ रुपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऔँ, समिति बनाऔँ भन्यौँ, हामीले जनताको आवाज बोल्यौँ तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख त्यो माइक काटिदिनुभयो ।’

सभापति लामिछानेले रास्वपालाई घिमिरेले गरेको व्यवहारको कुरा नभएर नेपाली जनताको आवाजको कुरा गरेको बताए । त्यस्तै उनले संसद नियमावली विपरीत आफूलाई संसदबाट सभामुखले गलहत्याएर निकालेको भन्दै आक्रोश पोखे ।

उनले भने,‘संसद नियमावली विपरीत मलाई संसदबाट निकालियो । उहाँलाई बाको आदेश ठूलो भयो जनताको भन्दा दुई घण्टामा सूचना टाँसेर मलाई उहाँले गलत्याएर संघीय संसदबाट निकाल्नु भयो तर जनताको मनबाट निकाल्न सक्नु भएन ।’

उनले निर्वाचनमा जनताले यसको हिसावकिताव गर्नुपर्ने बताए । त्यस्तै लामिछानेले इन्दिरा रानामगरलाई मानव तस्करको आरोपलगाइएको भन्दै आरोप लगाउनेलाई पाप लाग्ने बताए । उनले रानामगरले आफ्ना सन्तान नभएपछि जेलमा रहेका कयौं बालबालिकालाई अभिभावकत्व प्रदान गरेको भन्दै प्रशंसा गरे ।