डिजिटल अध्ययन अनुसन्धान केन्द्र निर्माणदेखि सुकुम्बासी समस्या समाधानसम्म, यस्तो छ झापा-५ का लागि बालेनको वाचापत्र


काठमाडौँ । झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले वाचापत्र सार्वजनिक गरेका छन् । सोमबार वाचापत्र सार्वजनिक गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी एक हजार दिनमा समाधान गर्ने नीति अपनाउने बताएका छन् । वाचापत्रमा भनिएको छ, ‘झापा–५ का भूमिहीन, सुकुम्वासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ।’

त्यस्तै उनले राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरु सशक्त रुपमा उठाउने, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने, स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्ने, स्थानीय तथा प्रदेश सरकारका योजनाहरु संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने,  नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने वाचा गरेका छन् ।

त्यस्तै, राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने, विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने वाचा गरेका छन् ।

त्यस्तै, राजनीतिलाई पेशा होइन, सेवा बनाउने, मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्ने वाचा गरेका छन् ।