बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको नागरिकता रद्द गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । अभियन्ता युवराज सफलले बालेनले आफूखुसी थर परिवर्तन गरेकाले नागरिकता रद्द गर्न माग गर्दै मन्त्रालयमा उजुरी गरेका हुन् ।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा उल्लेख गरिएको छ । उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा १२ मा कुनै पनि नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आए तोकिएको अधिकारीले त्यस्तो नागरिकता रद्द गर्नेछ भन्ने कानुनी व्यवस्था गरेको छ । कुनै पनि नेपाली नागरिकले तथ्य र कारण सहित आफ्नो थर परिवर्तन गर्न चाहेको खण्डमा नेपाल नागरिकता ऐन २०६३ को दफा (१७) सोही अनुसारको कानुनी व्यवस्था गरेको छ ।