राज्यका संस्थाहरुमा दलीयकरणको अन्त्य गर्ने कांग्रेसको प्रतिज्ञा(पूर्णपाठ)


जनकपुरधाम । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिज्ञा पत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ’ उल्लेख छ । प्रतिज्ञा पत्रमा कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने वाचा गरेको छ ।

उसले आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने उल्लेख गरेको छ । प्रतिज्ञा पत्रमा भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।’

स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण बनाउने उल्लेख छ।

कांग्रेसले रासायनिक मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्ने उल्लेख गरेको छ ।

प्रतिज्ञा पत्रमा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन्। कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ। नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउनेछन्। युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन्। राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ। नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ।’