रूकुम । एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट उम्मेदवारी दिएकी छिन् कुसुमदेवी थापा मगरले । ०२९ भदौ २९ गते पर्वतमा जन्मिएकी कुसुम रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–१० की स्थायी बासिन्दा हुन् ।
कुसुमले ०५२ मा नेपाल विद्यार्थी संघबाट राजनीति शरू गरेकी हुन् । उनी कांग्रेस भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सदस्य हुँदै केन्द्रीय उपसभापति बनिन् । नेपाल महिला संघको तेस्रो महाधिवेशन केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएकी उनी कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् ।
उनी भन्छिन्, ’मैले नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेकी हुँ । पछि कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सदस्य हुँदै केन्द्रीय उपसभापति भएँ ।’
त्यसो त कुसुम विघटित प्रतिनिधि सभा सदस्य हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् । उनी भन्छिन्, ’म कांग्रेसको भिजन २० सँगै पर्यटन विकास, गाउँपालिकाको स्थानीय होमस्टे र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने योजनाका साथ अघि बढेको छु । त्यसमा मैले मगरको संस्कृति र संस्कार जोगाउने अभियानमा जुट्छु ।
उनी पूर्वी रूकुम सबैभन्दा नयाँ र कान्छो जिल्ला भएकाले यसलाई आवश्यक पूर्वाधारहरू बनाउने योजनामा छिन् । नयाँ जिल्ला भए पनि यहाँ आवश्यक पूर्वाधारहरू छैनन् । नौ वटा वडामा अझै पनि पहुँच मार्ग पुगेको छैन । यो भौगोलिक रूपमा निकै अप्ठ्यारो भूभाग हो । कहिले डोल्पा जिल्लामा गाभिने, कहिले बागलुङमा, कहिले रुकुममा,यसरी प्रशासनिक रूपमा अस्थिर रहँदा कुनै पनि ठाउँबाट उचित सेवा सुविधा पाउन सकेन । त्यसपछि छुट्टै जिल्ला बनेको हो ।
भौतिक पूर्वाधारको अत्यन्त अभाव छ, राज्यको उपेक्षामा परेको अवस्था छ । त्यसैले उनको पहिलो एजेन्डा नै पूर्वाधार विकास हो ।
उनी भन्छिन्, ’यस जिल्लामा ठूला मगर बस्तीहरू छन् । ५२ पोखरी, ५३ ताल भनेर चिनिने रूकुमको स्यार्पु ताल लगायतका प्राकृतिक सम्पदाहरू यही पूर्वी रूकुममा छन् । यी सम्भावनालाई पर्यटनसँग जोड्न, पर्यटन पूर्वाधार निर्माण गर्ने मेरो योजना छ।’
उनको अर्को महत्त्वपूर्ण विषय रोजगारी हो । रूकुम पूर्वका धेरै युवा खाडी मुलुकमा भएकाले पर्काउने योजनामा उनले उम्मेदवारी दिएकी छन्,’कोही अवैधानिक रूपमा अमेरिकालगायत देशमा गएका छन् । उनीहरू सुरक्षित र स्थिर रोजगारीमा छैनन् । मेरो एजेन्डा ‘नलेज इकोनोमी’ हो । अहिलेसम्म युवाहरूले शारीरिक श्रम गरे, अब उनीहरूलाई आईटी र प्रविधिसँग जोडेर यहीँ प्रविधिमैत्री शिक्षा र तालिम दिएर रोजगारी सिर्जना गर्नुपर्छ । काठमाडौँका युवाले लाखौँ कमाउन सक्छन् भने रूकुम पूर्वका युवाले किन नसक्ने ?’ उनी थप्छिन् ।
एसएलसीपछि राजनीतिमा सक्रिय
एसएलसी पास गरेपछि नै कुसुमदेवी राजनीतिमा सक्रिय हुन थालिन् । उनको जन्मस्थान पर्वत हो । कलेज पढ्दा उमा अधिकारी रेग्मीले ०४८ सालमा पर्वतबाट चुनाव जितिन् । उनले विकासका धेरै पूर्वाधार योजना ल्याएर गाउँमै देखिने काम गरिन् ।
महिलाले पनि राजनीति गरेर समाज परिवर्तन गर्न सकिन्छ भन्ने प्रेरणा उनले त्यहाँबाट सिकिन् । परिवार र आफन्तको सहयोगले उनी अहिलेसम्म निरन्तर राजनीतिमा लागिरहिन् ।
बहुमूल्य जडीबुटीको अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य
रूकुम पूर्वमा बहुमूल्य जडीबुटी पाइन्छ । डोल्पासँग जोडिएको यो क्षेत्र नेपालमै सबैभन्दा बढी यार्सा पाइने क्षेत्र हो । यी जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उनको योजना छ ।
उनी भन्छिन्, ’कृषिलाई पनि व्यवसायीकरण गर्नुपर्छ । यहाँ ठूला–ठूला बुकी पाटन छन्, भेँडा पालनको राम्रो सम्भावना छ । उच्च नश्लका भेँडा ल्याएर बढी ऊन र मासु उत्पादन गर्न सकिन्छ । भेँडापालक किसान विस्थापित नहोस् भनेर प्रोत्साहन र भत्ता व्यवस्थाको पहल गर्नेछु ।’
यहाँ उत्पादन हुने ऊनबाट स्थानीयले बिछ्यौना, ओढ्ने, सिरानी, कपडा बनाइरहेका छन् । यसलाई पश्मिनासँग जोड्न सकियो भने ठूलो सम्भावना छ ।
उनी अगाडि भन्छिन्,’रूकुम पूर्व अर्गानिक जिल्ला हो । रैथाने बालीको संरक्षण गर्दै अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ । अर्गानिक उत्पादनको मूल्य फरक हुन्छ । त्यसलाई बजारमा ब्रान्डिङ गरेर स्थापित गर्ने मेरो योजना रहनेछ।’
साथै यहाँका जनताले सरकारबाट पाउनुपर्ने आधारभूत सेवा सुविधा पाएका छैनन् । गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, विद्युत, टेलिफोन टावर, इन्टरनेट सबैको समस्या छ । कतिपय ठाउँमा टेलिफोनसमेत टिप्दैन । बालविवाह छ, मातृ तथा शिशु मृत्यु दर उच्च छ ।
’म यही माटो, यही भूगोल र यही समुदायसँग जोडिएकी भएकाले यी समस्याहरूलाई नजिकबाट अनुभूति गरेको छु । म यसअघि समानुपातिक सांसद थिएँ, तर बजेट निर्माण र योजना छनोट प्रक्रियामा सहभागिता हुँदैन रहेछ । त्यसैले अहिले प्रत्यक्ष निर्वाचनबाट जनताको अनुमोदन लिएर यी समस्या समाधान गर्न चाहन्छु’, उनले भनिन् ।
उनका मुख्य प्रतिस्पर्धी पूर्व प्रधानमन्त्री प्रचण्ड हुन् । प्रचण्डले रूकुमलाई द्वन्द्वकालमा आधार इलाका मात्रै बनाएको आरोप छ । तर ०६४ सालपछि तीन पटक प्रधानमन्त्री हुँदा पनि रूकुमको समस्या ज्यूँका त्यूँ रहेको उनको दाबी छ ।
उनी भन्छिन्,’यदि आधार इलाका मानेको भए तीन पटक प्रधानमन्त्री हुँदा किन विकास हुन सकेन ? जनताले आधारभूत सेवा सुविधा पाएका छैनन् । त्यसैले अब जनताले मूल्यांकन गर्नुहुन्छ भन्ने विश्वास छ ।’
युवाहरूलाई गाउँमै रोजगारी र सीप
‘मिसन रोजगारी’ कांग्रेसको योजनासँगै उनको भने गाउँमै युवाहरूलाई रोजगारी दिने हो । ’वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाएर पठाउने, नेपालमै उद्यमशीलता विकास गर्ने, आईटीसँग जोडेर गाउँमै रोजगारी सिर्जना गर्ने मेरो योजना छ’, उनी भन्छिन्, ’यहाँका उत्पादन, पर्यटन र युवा दक्षतालाई मध्यनजर गर्दै रूकुमको शान, पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएकी छु ।’
साथै उनी सांसद हुँदाका विकासका योजनाहरूलाई मूर्त रुपमा दिनु पनि रहेको बताउँछिन् । ’मैले ३३ महिना सांसद हुँदा बाटो, पुल, मगर बस्तीको संस्कृति संरक्षण, खानेपानी, लिफ्टिङ योजनाहरू शुरू गरेँ । ती योजनाहरूलाई पूर्णता दिन, ट्रयाक खुलेका बाटोलाई कालोपत्रे गर्न र देखेका समस्याहरू समाधान गर्न मेरो उम्मेदवारी हो’, उनी सुनाउँछिन् ।
रूकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेबाट लिलामणि गौतम र रास्वपाबाट लखनकुमार थापा उठेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा समानुपातिकतर्फ माओवादी केन्द्रले ८ हजार २७१, कांग्रेसले ५ हजार ६९२ र एमालेले ३ हजार ६५९ मत ल्याएको थियो ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर निर्वाचित हुँदा एमालेका कैलाश मल्लले ५ हजार २११ मत पाएका थिए । कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले माओवादीसँग गठबन्धन गरेको थियो । त्यतिबेला ३७५ मत पाएको एकीकृत समाजवादी र माओवादी लगायतका दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको हो ।
माओवादीको प्रभाव क्षेत्रमा पूर्व प्रधानमन्त्री प्रचण्डको उम्मेदवारी, माओवादी–एकीकृत समाजवादीको एकता र कांग्रेस भित्रको असन्तुष्टि मगरका लागि चुनौती हुन् ।
मगर समुदाय बाहुल यो क्षेत्रबाट पूर्व प्रधानमन्त्री प्रचण्डलाई पराजित गर्ने मगरको दाबी छ । यसै पनि उनी पर्यटक उम्मेदवार भएकोमा रूकुमेली खुशी छैनन् । प्रचण्डले अहिलेसम्म चुनाव लडेका कुनै पनि क्षेत्रमा दोहोरिएका छैनन् । यद्यपि प्रचण्ड पनि हार्न गएका पक्कै हैनन् ।

प्रतिक्रिया