सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनाको परेड स्वाधीनतामाथि गम्भीर खेलबाडः महासचिव विप्लव


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ ।

माओवादीका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरी नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको बताएका हुन् । यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने उनले माग गरेका छन् ।

पार्टीले विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य भएकोमा पनि जोड दिएको छ।