हावादारी कुरा होइन ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भन्ने अभिव्यक्तिः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले केही समयअघि आफूले कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको बताएका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत सभापति थापाले अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको भन्दै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको बताएका हुन् ।

उनले यसका लागि स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारीको मोडल अघि सारेका छन् ।

उनले सरकारले पनि स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘पाँच वर्षभित्रमा करिब ४ खर्ब बराबरको आईटी तथा डिजिटल सेवाहरूको निर्यात गर्ने कुरा सम्भव छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगार सिर्जना गर्न सक्ने अवस्था छ । करिब दुई सय भन्दा बढी नेपाली आईटी कम्पनी नेपालभन्दा बाहिर विस्तार हुन सक्छन् भने कम्तिमा दुईदेखि तीनवटा आईटी कम्पनी धितोपत्रमा सूचीकृत हुने अवस्था पाँच वर्षमा बन्छ।’

उनले यसका लागि अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको बताएका छन् ।