मुलुकको संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिलाई एकजुट हुन प्रचण्डको अपील


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक अप्ठ्यरो अवस्थामा रहेकाले सबै राष्ट्रिय शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

‘जनयुद्ध दिवस’ का अवसरमा शुक्रबार बिहान शुभकामना सन्देश दिँदै प्रचण्डले मुलुकको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हुनुको विकल्प नभएको बताएका हुन् । उनले फागुन २१ को निर्वाचनबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंशले सिर्जना गरेको संकट समाधानको लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ । निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपील गर्दछु।’ उ

नले जनयुद्धका सहिदका सपना पूरा गर्ने उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको उल्लेख गरेका छन् । प्रचण्डले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारी बोध भएको पनि बताएका छन् ।