जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले प्रहरी कमजोर बनेको छः गृहमन्त्री अर्याल


काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।

नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले आमनागरिकको अपेक्षाअनुसार प्रहरी सङ्गठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने बताए ।

गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताए । प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।