परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छः उपसभापति वाग्ले


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन्।

रास्वपा तनहुँ–काठमाडौं सम्पर्क विभागद्वारा शनिबार काठमाडौंमा आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उनले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहभागिता बढाएको बताएका हुन्।

आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ थियो।

लोकतन्त्रमा प्रस्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै उनले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गरे।

हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको संगठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिए।

उनका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन्। पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको उनले उल्लेख गरे।