काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसले मात्र फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी गर्न सक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले अर्को वर्षको भदौ २३ र २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन र फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी अरु कसैले गर्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘अर्कोवर्षको भदौ २३ र २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्छ भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो । हामी गर्छौँ त्यो । देश सम्हाल्ने काम हाम्रो हो ।’
सभापति थापाले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको बताए । युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय सुरु गर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ । हामी तन्नेरीसँग संवाद गर्छौं, बुढापाकासँग संवाद गर्छौं । मधेस, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौं नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्न चाहन्छौं ।’
उनले रिस, उत्तेजना र घृणाले मात्र नहुने भन्दै सबैलाई मिलाएर लिएर जाने साहस गर्नुपर्ने बताए ।
उनले विगतमा कांग्रेसले गरेका गल्ती कमजोरीहरूलाई स्वीकार गरेर आफूहरु आएको बताए ।
सभापति थापाले गठबन्धनको नाममा ठगबन्धन भएको भन्दै आफू त्यसको विपक्षमा उभिएको बताए । उनले भने, ‘एउटा पार्टीसँग मिलेर चुनाव लडेको छ, चुनाव लडेर जित्न पाएको छैन अर्को पार्टीसँग मिलेर सरकार बनाउने हामी होइनौँ ? कुनै पार्टी सरकारमा बस्दाबस्दै कुनै छलफल नगरी बाहिर निकाल्दिने ? फेरि अर्कोसँग मिलेर बनाउने ?’
उनले बरु पाँच वटा सरकार कांग्रेसालई नचाहिने तर सिद्धान्त, मूल्य, मान्यतामा सम्झौता नगर्ने बताए । उनले भने, ‘सरकारमा जाने, सरकार बनाउने पार्टीको जीवनमा आइराख्ने कुरा हुन् । चुनाव जित्न चाहन्छौं तर हाम्रो सिद्धान्तसँग सम्झौता गर्नुपर्यो भने हामीलाई चाहिँदैन सरकार । एउटा होइन पाँचवटा सरकार कांग्रेसलाई चाहिँदैन ।’
मूल्य र सिद्धान्तमा सम्झौता नगर्दा विपी कोइराला आठ वर्ष जेल बस्नुपरेको प्रसंग निकाल्दै सभापति थापाले भने, ‘विपी कोइरालाले एउटा निवेदन मात्र लेखेको भए प्रधानमन्त्रीबाट निस्किनुपर्ने, जेल बस्नुपर्ने अवस्था हुँदैनथ्यो । तर कांग्रेसको विचार र सिद्धान्तलाई आत्मसात गर्दै उहाँ बरु ८ वर्ष झ्यालखाना बस्नुभयो । त्यो कांग्रेस होइन हामी ? त्यस्तै कांग्रेस बनाउने हो फेरि । हामी बनाउँछौं ।’

प्रतिक्रिया