विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी होः प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा दाहालले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र संघर्षले गर्ने बताए ।

‘गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?,’ संयोजक दाहालले भने ।

संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए । उनले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताए ।

नेकपाका नेता प्रकाश ज्वालाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सृजना र समृद्धिमार्फत समाजवादको यात्रातर्फ आफ्नो पार्टी अघि बढिरहेको बताए  ।

नेकपा सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रमेश मल्लले जनता र पार्टीको शिर निहुरिन नदिने गरी आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।