काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको बेला उत्खनन अध्ययन थालिएको ग्यासको उत्पादन सरकारमा आएपछि फेरि काम सुरु गर्ने बताएका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले आफू सरकारमा हुँदा सुरु गरेको कामलाई चुनावपछि पुनः सरकारमा पुगेर उत्पादन गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘विकासका लागि सपना देख्नुपर्छ, त्यसलाई साकार पार्ने तयारी थाल्नुपर्छ र त्यसअनुसारको कार्यान्वयन गर्नुपर्छ । मैले पहिलोपटक सरकारको नेतृत्व गर्दा देशमा नाकाबन्दीले खाना पकाउने ग्यासलगायत दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव थियो । त्यसबेला मैले नेपालीको मनोबल कमजोर नहोस् भनेर हामी आफैँ ग्यास उत्खनन गर्छौं र पाइपबाट नै भान्सामा ग्यास आउने बनाउँछौँ भनेको थिएँ । सरकारमा हुँदा हामीले दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गर्यौँ र उत्खनन गर्ने काम अघि बढायौँ । हामी सरकारमा हुँदा नै गतवर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो । त्यसको नमूना परीक्षण सफल भएपछि हामीले गत मंसिरमै व्यवसायिक उत्पादनको योजनासहित काम अघि बढाएका थियौँ। तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन । हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने छौँ।’

प्रतिक्रिया