म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइनः सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जनताले गठबन्धनको राजनीति नरुचाएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा सभापति थापाले सरकारमा टिक्नका लागि नाजायज सम्झौता नगरुन् भन्ने जनताको चाहना रहेको बताएका हुन् । उनले नयाँ पुस्ताको चाहना अनुसार पार्टी अगाडि बढाउनको लागि आफूहरूले सङ्कल्प गरेर अघि बढेको बताए।

नयाँ कांग्रेसको यात्रा भर्खरै सुरु भएको भन्दै सभापति थापाले अब सबै तहको टिकट माथिबाट नभई तल्लो तहबाटै बाँड्ने बताए । गुटबन्दी, भागबण्डा र ‘अँध्यारो कोठा’ का सम्झौताबाट मुक्त कांग्रेस निर्माण गर्ने उद्घोष गर्दै उनले पार्टीभित्र अब सबैको समान हक र सम्मान हुने बताए ।

उनले पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफू जोखिम उठाएर सर्लाही गएको बताए । उनले भने, ‘देशको नेतृत्व गर्ने हो भने मधेसलाई गम्ल्याङ अँगालो हाल्नु पर्छ । म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइन । काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ ।’

सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भएको बताए । उनले भने, ‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा । पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ ।’

सभापति थापाले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्ने बताए । उनले भने, ‘अब स्थानीय र प्रदेशको चुनाव अघिनै पार्टीको अधिवेशन हुनेछ, अधिवेशनबाट चुनिएको कार्यसमितिले उम्मेदवारको टिकट प्राइमरी इलेक्सनबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’