निर्वाचनकेन्द्रित १२ समिति गठन गर्न कांग्रेसको परिपत्र


काठमाडौँ । नेपाली कांग्रेसले चुनावकेन्द्रित समिति गठन गर्न पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय १६५ वटै कार्यसमितिहरूलाई परिपत्र गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टीका विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न परिपत्र गरेका हुन् ।

चुनावकेन्द्रित अभियान व्यवस्थित बनाउन समितिहरू र विभिन्न संरचना सबै तहमा तत्काल गठन गर्न पनि उनले परिपत्रमार्फत् आग्रह गरेका छन् ।

कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक सङ्घ–संस्था समन्वय समिति, धार्मिक सङ्घ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८/३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्न आग्रह गरेको छ । ती बाहेक निर्वाचन परिचाल समिति र प्रचार प्रसार समिति अन्तर्गत उपसमिति गठन गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ ।


१) निर्वाचन व्यवस्थापन सचिवालय : निर्वाचन अभियानलाई व्यवस्थित बनाउन ५÷७ जनाको सानो संख्यामा सचिवालय गठन गर्ने ।

सचिवालयले निर्वाचनमा पार्टीको कार्यालय, आन्तरिक व्यवस्थापनदेखि सार्वजनिक प्रस्तुतिसम्मका सबै कार्यको समन्वय र आवश्यक निर्णय गर्ने ।

२) निर्वाचन परिचालन मूल समिति

मूल समिति अन्तर्गत –

क) सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति
ख) महिला समन्वय उपसमिति
ग) तरूण स्वयंसेवक समन्वय र व्यवस्थापन उपसमिति
घ) श्रमिक क्षेत्र समन्वय र परिचालन उपसमिति
ङ) कृषि क्षेत्र र कृषक समन्वय र परिचालन उपसमिति
च) भ्रातृ संस्था समन्वय र परिचालन उपसमिति
छ) शुभेच्छुक संस्था समन्वय र परिचालन उपसमिति
(यी उपसमितिका अलवा स्थानीय भूगोलको जनसंख्या हेरेर संविधानको क्लष्टर बमोजिमका थप उपसमिति गठन गर्ने)

३) निर्वाचन प्रचार प्रसार मूल समिति : यो समिति केन्द्रीय प्रचार प्रसार समितिसँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहनेछ ।
यस अन्तर्गत :
क) मिडिया समन्वय उपसमिति
ख) सामाजिक सञ्जाल समन्वय उपसमिति : सामाजिक सञ्जालको टिममा नवयुवाहरुलाई अग्रसर गराउने ।

४) स्थानीय तह समन्वय समिति : निर्वाचन आचार सहित उल्लंघन नहुने हदसम्म स्थानीय तहमा निर्वाचित साथीहरु पार्टीको विजयी अभियानमा सरिक हुनेछन् । यो समितिमा पार्टी प्रतिनिधि एवं स्थानीय तहका साथीहरु सहभागी रहनु हुनेछ ।

५) बौद्धिक क्षेत्र समन्वय समिति : सम्बन्धित भूगोलका सबै बौद्धिक संस्था र व्यक्तित्वसँग समन्वय र सहकार्य यो समितिले गर्नेछ ।

६) सामाजिक संघ–संस्था समन्वय समिति : हरेक निर्वाचन क्षेत्रमा दर्जनौ सामाजिक संघ–संस्था अस्तित्वमा हुन्छन्, तिनको मुद्दा आत्मसात गर्न र चुनावमा समर्थन साथ लिन यो समितिले कार्य गर्नेछ ।

७) धार्मिक संघ–संस्था समन्वय समिति : निर्वाचन क्षेत्रमा रहेका विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित संस्था र व्यक्तिसँग भेटघाट र समन्वय गरेर पार्टीको विजय अभियानमा समर्थन जुटाउने कार्यमा यो समिति क्रियाशील हुनेछ ।

८) निजी क्षेत्र समन्वय समिति : निर्वाचन क्षेत्रमा रहेका उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था र व्यक्तिहरुसँग समन्वय गर्ने । ठूला उद्योगीदेखि साना व्यवसायी, खुद्रा व्यापार व्यवसायमा संलग्न सबैलाई सम्पर्क र समन्वय यो समितिले गर्नेछ ।

९) १८/३० बिशेष अभियान: १८ वर्ष माथि ३० वर्षमुनिका नवयुवालाई सहभागी बनाएर समिति गठन गर्ने र १८/३० विशेष अभियान चलाउने ।

१०) पूर्वआप्रवासी समन्वय समिति : विदेशबाट फर्किएका युवा र अन्यलाई सम्पर्क, समन्वय र परिचालनको कार्य यो समितिले गर्नेछ । विदेशबाट फर्किएका साथीहरुको सहभागिता गराएर यो समितिलाई विस्तार गर्नु पर्नेछ ।

११) स्थानीय प्रशासन समन्वय समिति : निर्वाचनलाई भय रहित र शान्तिपूर्ण बनाउन राजनैतिक दलहरूले स्थानीय प्रशासनसँग जरुरी सहकार्य गर्नुपर्ने हुन्छ, पार्टीको यो समितिले स्थानीय प्रशासनसँग पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नेछ ।

१२) अनुगमन समिति : अग्रज व्यक्तित्वको संयोजकत्वमा एक अनुगमन समिति गठन गर्ने । समितिले चुनावका लागि गठित विभिन्न समिति, उपसमिति र पार्टीका अन्य सबैको कार्य अनुगमन गरेर आवश्यक सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव दिने र प्रेरित गर्ने कार्य गर्नेछ ।