काठमाडौं । निर्वाचन आयोगले रास्वपाका वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन सालाई स्पष्टीकरण सोधेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
उजुरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन साहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ ।
त्यस क्रममा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ ।
त्यसैगरी आयोगले नेपाली जनसेवा पार्टीकातर्फबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार निकोलस भुसाल, नेपाल जनसेवा पार्टीकातर्फबाट भक्तपुर–२ की उम्मेदवारी दिएकी जानुका पाठक (शोभा पाठक) र भक्तपुर–२ कै उमेदवार एवं नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
भुसाललाई ‘जेनजी’ आन्दोलनको ‘आइकोनिक’ जुत्ता चुनाव चिह्न भनेर प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
पाठकले उमेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । बस्नेतले झापा–५ का उमेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहका विषयमा आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उनीहरुलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ ।

प्रतिक्रिया