नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएकी छन् ।

उपत्यकाका १९ वटा नदी संघर्ष समितिका पदाधिकारीसँग आज यहाँ भएको भेटमा उनले अदालतको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको जनाएकी हुन् ।

सर्वोच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डंगोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उहाँहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट, विभिन्न कार्यालयमा गएर एकता र सहकार्यका साथ आफ्ना समस्या बुलन्द आवाजमा उठाएकामा सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

कार्यवाहक प्रमुख डंगोलसँगको भेटपछि नदी सरोकार संघर्ष समितिका संयोजक ऋषि बस्यालले डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकामा बधाई ज्ञापन गरे । उनले यहाँका नागरिकको रक्षा गर्न र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गरे । अभियन्ता राजाराम तण्डुकारलगायतले पनि सकारात्मक पहलका लागि कार्यवाहक प्रमुखलाई धन्यवाद दिएका छन्।