सर्लाही-४ का युवालाई गगन थापाको आग्रहः म तपाईंहरूको भरोसा मानेर आएको छु


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको बताएका छन् ।

शनिबार काठमाडौँमा सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति थापाले सर्लाही ४ का युवाको भर परेर आफूले यस्तो निर्णय लिएको बताएका हुन् । सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरे ।

उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ । म तपाईंहरूको भरोसा मानेर आएको छु ।’

उनले आफू सर्लाही ४ मा झरेपछि काठमाडौंका मतदाता स्तब्ध बनेका बनाए । कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफ्नो जोड मधेशमा रहेको बताए। आफू मधेश नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने उनको बुझाइ छ।