बालेनको मौनता, रविको बेदना !


प्रिय घण्टी मित्रहरु,
आशा छ तपाईंहरुले पढ्नुहुनेछ, दोहोराइतेहेराई पढ्नुहुनेछ । र, मनन गर्नुहुनेछ । तपाईको पार्टी अध्यक्ष संचारकर्मबाट स्थापित भएको हुँदा उनीप्रति मेरो पेशाजन्य सदभाव छ । शालिकराम निधनकाण्ड होस् या सहकारी घोटाला प्रकरण, मैले रविप्रति सन्तुलित शुभेच्छा सार्वजनिकरुपमा प्रकट गर्दै आएको छु ।

आफूलाई लागेको कुरा मान्छेको दिमाग घोच्नेगरि धाराप्रवाहरुपमा भन्न सक्ने रविको खुबी बिलक्षण छ । त्यहीं बिलक्षणताको बिरासतमा घण्टीको जन्म भयो, घण्टी घन्कियो, र आज घण्टी मूलधारको राजनीतिक पार्टी बन्ने क्रममा छ । यो क्रम जारी रहन्छ वा क्रमभङ्ग हुन्छ भन्ने कुरा मूलतः तपाईंहरुकै हातमा छ ।

जनकपूरमा तपाईंहरुले विशाल सभा गर्नुभयो । विशाल सभालाई साक्षी राख्दै तपाईंका अध्यक्ष रवि लामिछानेले विशाल हृदयका साथ भावुक उद्घोष गर्नुभयो– मैले स्वर्गवासी आमासँग कुरा गरें । मैले आमालाई विश्वास दिलाएँ– बालेनले देश बनाउनेछ ।
स्वर्गवासी आमालाई साक्षी राखेर रविले बालेनप्रति विश्वास दर्शाएका मात्रै होइनन्, बालेनप्रति विश्वास जगाउन खोजेका पनि हुन् । बालेनका रहस्यमय शैली र विकटताका कारण युवापंक्तिमा आकर्षण सृजना गरेको छ, तर प्रौढ र प्राज्ञिक जमात संशकित छ । यो शंका निवारण गर्न उनी भन्दै थिए– ममाथि लगाईएका झूठा मुद्दाका कारण म राजनीतिमा सक्रिए हुन पाइनँ भनेपनि बालेनले बिँडो थाम्नेछन् ।

सपाट र स्पष्टरुपमा बालेनप्रति रविले काँध थापे । रेकर्डेड भाषण सुनेकाले रविभन्दा अगाडि बोलेका बालेनले के बोले भन्ने उत्सुकता पैदा भयो । मधेशमा बालेन क्रेज र बालेनको मधेसी पहिचानबारे संचारमाध्यम र सामाजिक सञ्जाल रंगिएका थिए । बालेनको भाषणको तारिफ गर्दै लेखिएका स्टाटस पनि देखें । तर, बालेनको भाषण मलाई सामान्य तर कुटिल लाग्यो ।
रास्वपा प्रवेश गरेपछिको पहिलो सार्वजनिक भाषणमा बालेन आफ्ना अध्यक्षबारे पूरापूर मौन रहेछन् । अध्यक्षमाथि तराई–मधेश–पहाड–उपत्यका सबैतिर मुद्दामामिलाले घेराबन्दी गरिएको छ । रास्वपाइतरका मानिसले समेत रविमाथि कानूनको अचाक्ली प्रयोग गरेको सार्वजनिकरुपमै बोलेका छन् । तर, बालेनले केही बोलेनछन् । बालेन भलाद्मी हुन्, यस्ता कुरामा बोल्दैनन् भनुँ भने नजीरले त्यस्तो भन्दैन । श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेकै झोकमा सिंहदरबार जलाइदिन्छु भन्ने स्वॅाठ स्वभावका हुन् यिनी ।

जनकपुरको सभा सकिएपछि राजनीतिका रथी केपी ओलीलाई परास्त गर्दै महारथी हुने ध्येयका साथ बालेन झापा लागे । तामझामसाथ उम्मेद्वारी दर्ता गराए । उता रवि केपी ओली नेतृत्वको सरकारका पालामा दायर मुद्दाको सुनुवाई र धरौटीका लागि पर्सा हानिए । नियतिको खेल वा राजनीतिको झेल– विचरा रवि मनोनयन दर्ता गर्नसमेत सशरीर उपश्थित हुन पाएनन् । वारेशबाट उम्मेद्वारी दर्ता गर्न विवश भए ।

रविजीका मुद्दामामिलाको निरुपण कसरी हुन्छ भन्नेमा पनि धेरै कुरा निर्भर हुनेछ । रविजीको मुद्दा कानूनीरुपमा प्रतिकूल आएका दिन ‘F-K Rabi’ भन्ने माहोल तयार हुनेछ । माहोलको अग्रपंक्तिमा हुनेछन् हिजो फ आरएसपी भन्नेहरु नै । साहारा लिन आएकैले आहारा बनाएका घटना नयाँ होइनन् । क्षितिजमा यो दृश्य सुक्ष्मरुपमा देखिएकै छ । बालेनले चुनाव जित्न के गर्छन्, यसै भन्न सकिन्न । तर, रविले निर्वाचन जित्ने निश्चितजस्तै छ । निर्वाचित भएपनि रविले अहिलेकै अवस्थामा सपथ लिन र संसदमा सहभागी हुन पाउन्नन् ।

बालेनलाई रविको मुद्दामामिलाबारे मौन रहने स्वतन्त्रता छ । तर, राजनीतिकरुपमा त्यसो गर्दा नियत ठीक ठहर्दैन । रविको मुद्दामामिलालाई विशुद्ध कानूनी क्षेत्राधिकारको बिषय मान्नेले ती मुद्दाको छिनोफानो नभइञ्जेल रविसँगै सहमति गरेर, सपथ लिएर र रविकै हस्ताक्षरको मनोनयन पत्र लिएर घण्टी हल्लाउँदै चुनावमा जानु हुँदैन । रविलाई नेता स्वीकार गर्ने व्यक्तिले उनको शुद्धता अदालतको निर्णयका आधारमा गर्ने बठ्याईं गर्न मिल्दैन । रविप्रति पूर्ववर्ती ओली सरकारले प्रतिशोध साँधेको थियो भन्ने कुरा दुनियाँले भन्छ, तर बालेनले भनेको कम्तिमा मैले सुनेको छैन । मौनता जत्तिको अर्थपूर्ण सन्देश अरु हुँदैन ।

आँ गर्दा अलंकार बुझ्ने रविले हाम्ले भन्दा धेरै बुझेकै होलान् । भदौमा नख्खु कारागारबाट निस्किएका उनलाई ककस्ले कस्को उत्प्रेरणामा सामाजिक सञ्जालमार्फत छेडखानी र केरकार गर्यो भन्ने भुक्तभोगी उनी हुँदै हुन् । सिंहझैं खोरबाट निस्किएका रविलाई जन्मदिनकै दिन मुसाझैं दूलामा फर्काउन कस्को प्रायोजन रह्यो, रविले बुझेकै होलान् । प्रिय घण्टी साथीहरु, परिस्थिति यस्तो नबनोस् रवि पनि साथमा नहुने–घण्टीपनि हातमा नरहने ।
अहिलेलाई यत्ति,
रविलगायत तपाईंहरुको शुभेच्छुक
नारायण पौडेल