अघिल्ला निर्वाचनमा एमालेले दोब्बरभन्दा बढी मतान्तरले जितेको थियो, यसपटक अझै ठूलो अन्तर हुन्छः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् ।

मंगलबार मनोनयन दर्ताका लागि जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष ओलीले अघिल्ला निर्वाचनमा एमालेले दोब्बरभन्दा बढी मतान्तरले जितेको भन्दै यसपटक अझै ठूलो अन्तर रहने दाबी गरेका हुन् ।

उनले लोकतन्त्र र देश जोगाउन अनुभवी नेतृत्व आवश्यक रहेको बताए । उनले देशमा आगो लगाउनेहरुसँग एमालेको प्रतिस्पर्धा नै नहुने बताए ।

उनले भने, ‘देशमा आगो लाउनेहरू जागेका छन् । जनतामा भ्रम पारेका छन् । आगो लगाउनेबाट लोकतन्त्र बचाउनु छ र कार्यालय जलाउनेबाट देश बचाउनु पर्ने छ । देश बचाउन अनुभवी नेतृत्व चाहिन्छ । एमालेको प्रतिस्पर्धी नै खास छैन । हाहाहुँहुँ बेग्लै कुरा हो ।’ उनले एमालेलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताए ।

उनले भने, ‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ ।’ झापा–५ ओलीले यसअघि पटक–पटक जित्दै आएको क्षेत्र हो । यसपटक झापा–५ बाट बालेन साहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।