काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमालेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न पार्टीका नेता कार्यकर्तालाई अपील गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी टिकट विवादको बहस छाडेर पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरेका हुन् ।
उनले आफू ताप्लेजुङबाट उम्मेदवार बन्न चाहेको तर, अध्यक्षले अर्कै निर्णय गरेकाले आफूले कुनै किचलो नगर्ने बताए । उनले अझै पनि समय बाँकी रहेकाले केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘म स्पष्ट भइसकेँ म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर पार्टी अध्यक्षले सार्वजनिक ढङ्गले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्नेवाला छैन । म श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूलाई एउटा विनम्र आग्रह गर्न चाहन्छु। आज पनि देशभरका १६५ क्षेत्रमध्ये अझै पनि केही क्षेत्रमा उम्मेदवारहरू मिलाउन सकिन्छ छ भने मिलाउनुहोस् ।’
उनले फागुन २१ पछि एमालेले सरकार बनाउने र एमालेको नेतृत्वमा सशक्त ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले उम्मेदवार छनोट न्यायसंगत ढंगले भए भएन भन्ने कुरा निर्वाचनपछि समीक्षा हुनुपर्ने बताए । उनले भने, ‘हामीले उम्मेदवार छनोट गर्दा न्यायसङ्गत ढङ्गले गर्यौँ कि गरेनौँ ? भन्ने कुरा समीक्षा हुनुपर्छ । मैले पार्टी अध्यक्षलाई यो कुरा भनिसकेको छु ।’
उनले देश यतिबेला अत्यन्तै संगीन र कठिन मोडमा रहेकाले पार्टी र मुलुकभित्र एकता आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया