नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रुपमा उठ्छन् भन्ने हल्ला गलत, रुखबाहेक सोचेको छैन


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

निर्वाचन आयोगको निर्णयको विरूद्धमा आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्च अदालतले दिने निर्णय आफूहरूलाई स्वीकार्य हुने खड्काले बताएका छन् । उनले रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचन आयोगको निर्णयकाविरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्बोच्च अदालत गएका हौँ । सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन । नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रुपमा उठ्छन्, जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरु र हाम्रा आम मतदाताहरुमा हार्दिक अनुरोध र अपील गर्दछु ।’