काठमाडौँ । नेकपा एमालेले शनिबार अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो । तर केही क्षेत्रमा भने अध्यक्षले पछि टुंगो लगाउने भन्दै खाली राखिएको छ ।
ईश्वर पोखरेल चुनाव लड्दै आएको काठमाडौं ५, उपमहासचिव योगेश भट्टराईको क्षेत्र ताप्लेजुङ र यसअघि गोकुल बास्कोटाले चुनाव जितेको काभ्रे २ पनि खाली राखिएको छ । आफ्नो क्षेत्रमा खाली राखिएपछि उपमहासचिव भट्टराईले निर्णय सुनेर विचलित नहुन अनुरोध गरेका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन लागिपर्ने बताएका छन् ।
उनले भनेका छन्, ’नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफनो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
बैठकमा भट्टराईले उम्मेदवार छनोटप्रति असहमति जनाएको बताइएको छ ।

प्रतिक्रिया