काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कसैको आन्दोलनको धम्कीबाट प्रभावित नहुन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उपसभापति शर्माले आन्दोलनबाट प्रभावित नहुन आयोगलाई आग्रह गरेका हुन् ।
यसअघि आजै देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्ने धम्की दिएका थिए । उपसभापति शर्माले खड्काको भनाईप्रति लक्षित गर्दै आयोगलाई यस्तो बताएका छन् ।
शर्माले भने,‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेरअघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ ।’
उपसभापति शर्माले नियमित महाधिशेनको कार्यतालिका अव्यावहारिक भएकाले नै दुवै महामन्त्रीले असहमति जनाएको बताए । उनले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको जानकारी गराए ।
उनले भने, ‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’
उनले नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेकाले आफूहरुले सोहीअनुसार काम गरेको बताए ।

प्रतिक्रिया