-रक्षा बम ।
चाहे देशमा होस् वा कुनै एउटा राजनीतिक दलभित्र, आम नेपाली जनताले लोकतन्त्र र विधिको शासनको प्रत्याभूति खोजिरहेका थिए। नेपाली जनताले थप नयाँ दल खोजेका थिएनन्, तर भएकै दलहरूबाटै देशलाई डोहोर्याउने नयाँ सिद्धान्त र त्यसको पैरवी गर्ने नयाँ अनुहार खोजेका थिए। सीमित व्यक्तिहरूको हातमा बन्धक रहेको नेपाली राजनीतिबाट जनताले मुक्ति खोजेका थिए।
भदौ २३/२४ ले त झन् स्पष्ट रूपमा पुराना सत्ताधारी दलहरूलाई लोकतान्त्रिक सुधारको विकल्प दिएको थियो। प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, केपी शर्मा ओलीलगायतलाई उनीहरूले आफ्नो कार्यकालमा मुलुकका लागि गरेको योगदानको सम्मान गर्दै सम्मानजनक बहिर्गमनको अपील गरिएको थियो। तर उनीहरूले आफ्नो बहिर्गमन होइन, पुनः सत्तादोहनका लागि नयाँ बाटो खोजिरहे, नयाँ हत्कण्डा अपनाइरहे ।
यसमा अग्रपंक्तिमा प्रचण्ड र माधव नेपाल देखापरे । प्रचण्डले जसरी आफैँलाई संयोजक बनाएर त्यही पुरानो परिपाटीमा नयाँ जलप पोतेर अर्को संगठन निर्माण गरे, त्यसले नै स्पष्ट बनायो कि उनीहरू परिवर्तनको जनभावना सुन्नै चाहँदैनन्। जनताको ‘सुप्रिमो’ भनेर स्थापित भएका प्रचण्डले जति त जनतालाई झुटा सपना र आश्वासन कसले बाँड्यो र ? आदरणीय सुप्रिमो ज्यू, हरेक समयले आफ्नो नेता जन्माउँछ, र माफ गर्नुहोला ! तपाईं यो समयको नेता होइन। यो भ्रमबाट चाँडै बाहिर निस्किनुहोस्, होइन भने चेतनाको वेगले तपाईंलाई पनि किनार लगाउनेछ भन्नेमा स्पष्ट हुनुस् ।
केपी शर्मा ओलीले त आफ्नै विधान मिचेर, लोकतान्त्रिक चुनावकै धज्जी उडाउँदै, आफैँलाई पुनः अनुमोदन गर्ने बाटो खोले । गगन–विश्वहरूले लोकतन्त्रलाइ सम्मान गर्दै जसरी आफ्नै पार्टीभित्र विद्रोहको आवाज उठाए, त्यो सम्मानजनक छ नै । तर त्यससँगै राजनीतिको उत्तराद्धमा आइपुगेका देउवा, काँग्रेस फुटाएरै भए पनि एउटा टुकडीका सर्वोच्च नेता बन्न लालायित देखिन्छन्। काँग्रेस र देशका लागि यसभन्दा दुःखद अर्को कुरा हुनै सक्दैन।
पक्कै पनि चुनाव लड्न पाउनु तपाईंहरूको अधिकार हो। तर तपाईंहरूले पटक–पटक बाँडेका झुटा सपनाहरूबाट हामी आजित भइसकेका छौँ। तपाईंहरूको नेतृत्व शैली हेर्दा यो देशको गति नै थाकिसकेको देखिन्छ।
खैर, जाँचबुझ आयोगको प्रतिवेदन आउन अझै बाँकी नै छ। निहत्था विद्यार्थीमाथि जसरी गोली बर्साइएको छ, त्यसको पनि हिसाब–किताब हुन बाँकी नै छ। ढुक्क हुनुहोस्, हामी लोकतान्त्रिक विधिबाटै यसको हिसाब खोज्नेछौँ।
बाँकी, नयाँ भनिएका दल र नेताहरूले पनि यो नबिर्सनु कि उल्लिखित नेताहरूको सत्तामोहले आज देश कुन अवस्थामा पुगेको छ। यो र यस्तै हालत तपाईंहरूको नहोस्। पार्टीभित्र आवश्यक हुने आन्तरिक लोकतन्त्रको गरीमा जोगाउनुहोला। हामीले पारदर्शिता र जवाफदेहिता खोजेका छौँ। प्रश्नहरू यतिखेर तपाईंहरुतर्फ पनि सोझिएका छन् । उत्तर दिन छोडेर चोर बाटो नखोज्नुहोला ।
देशको न्यायप्रणाली र सुशासनलाई जनमुखी बनाउँदै नयाँ यात्रामा लैजाने अभिभारा अबको निर्वाचित संसद्को हुनेछ। तत्कालीन राज्यसत्ताको चरम दुरुपयोग गर्दै, दमनको हद नाघेर चलाइएका गोलीले शहादत प्राप्त गरेका युवाहरूका परिवार र घाइते बनेका युवाहरूका घाउमा मल्हम लगाउने जिम्मेवारी पनि तपाईंहरूकै हो। हाम्रा युवा सपनाहरूको हत्या गरिएको छ, हाम्रो न्यायका लागि तपाईंहरू कसरी उभिनुहुन्छ, हामी त्यो हेर्नेछौँ।

प्रतिक्रिया