हामी कुनै पनि पार्टीसँग एकीकरण गरेर जाने पक्षमा छैनौंः कुलमान घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफूहरु कुनै पनि पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताएका छन् ।

उज्यालो नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको भन्दै सामाजिक संजालमा हल्ला फैलिएको भन्दै अध्यक्ष घिसिङले त्यसमा सत्यता नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो ।’

उनले आफ्नो पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र भएर अघि बढिरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु । यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।’